रत्नप्रसाद अनामणि
सिंहलाई स्तम्भमा बन्दैमा त्यो दरबार
कहाँ सिंहदरबार हुन्छ र ?
मिथ भन्छ-
बाघदरबार देखेर
रानी साहेबले सिंहदरबार बनाएको हो रे
स्तम्भको सिंहले
के नै गर्न सक्छ र ?
गर्ने भए दुई दुई पटक
आगो लाग्दा
र, बम राख्दा सिंह किन चुप हुन्थ्यो र ?
मलाई त्यो सिंह र त्यहाँका सुरक्षा
उस्तै उस्तै लाग्यो
नत्र सिंहदरबारभित्र बसेको
अनि ख्वाएर पालेको के मतलब ?
आफ्नै आँगनमा आगो लागेको
थाहा नपाउनेहरू माझ
एउटा प्रश्न छ
देश यिनैले बचाउँछ भन्ने
कसरी बिश्वास गरौं ?