सुनसरी— अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलवहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खुला गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बिहान ८ः१५ बजे मापन गर्दा नदीको वहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार क्यूसेक पुगेपछि थप ढोका खोलिएको हो।
बिहान ७ बजे पानीको प्रवाह २ लाख ७१ हजार ३१० क्यूसेक पुगेका बेला ३९ ढोका मात्र खुला थिए। शनिबार राति ८ बजे भने पानीको मात्रा १ लाख ९३ हजार ६० क्यूसेक रहँदा १५ ढोका मात्रै खोलिएका थिए।
गत भदौ १७ गते उच्च वहावका कारण ३८ ढोका खोलिएको कोशी ब्यारेजमा पछिल्लो दुई दिनदेखि लगातारको वर्षासँगै फेरि नदीको जलस्तर तीव्र गतिमा बढिरहेको छ।
प्रवक्ता खतिवडाका अनुसार, ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ। अहिले तीमध्ये तीन वटा रातो बत्ती बलिरहेका छन्।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार, पानीको स्तर अझै बढ्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।