काठमाडौं । नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा सञ्चालन हुनेछन्। नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजकका रूपमा सहभागी हुनेछ। प्रतियोगिताको समूह चरणमा नेपाली टोलीले भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलोपटक आईसीसी यु–१९ विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो। यस प्रतियोगिताले नेपाली महिला क्रिकेटको विकास, अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि तथा देशको क्रिकेट पूर्वाधारको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमा १५ खेल सञ्चालन हुने भएपछि नेपाली क्रिकेट समर्थकले घरेलु मैदानमै विश्वस्तरीय युवा महिला क्रिकेटको प्रतिस्पर्धा हेर्न पाउनेछन्। प्रतियोगिताको सफल आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

