लास र ग्यास बगिरहँदा
लास बगिरहेछ नदीमा,
ग्यास बगिरहेछ खोलामा,
तर धेरैलाई हतार छ—
ग्यास समात्न,
आफ्नो भाग जोगाउन,
आफ्नो घर भर्न।१।
कसैको सिउँदो उजाडिएको छ,
कसैको काख रित्तिएको छ,
कसैको घर माटोमा पुरिएको छ,
तर बजारमा भने
मान्छेहरू मूल्य खोजिरहेका छन्।२।
लास र ग्यास बगिरहँदा
मान्छेहरू दौडिरहेका छन्—
मान्छे बचाउन होइन,
ग्यास तान्न।
कस्तो समय आयो यो?
मान्छे छन्,
तर मानवियता छैन।३।
आँखा छन्,
तर आँसु छैन।
हात छन्,
तर सहयोगका लागि उठ्दैनन्।
मन छन्,
तर अरूको पीडा महसुस गर्दैनन्।४।
नदीले सोधिरहेछ—
“मसँग बगेका यी लास कसका हुन्?”
आमाले सोधिरहेकी छिन्—
“मेरो छोरा कहाँ छ?”
बाबुले खोजिरहेका छन्—
“मेरो परिवार कहाँ छ?”
तर हामी
ग्यासको सिलिन्डर खोज्दैछौँ,
लाभको हिसाब गर्दैछौँ,
मानवताको मूल्य बिर्सिँदैछौँ।५।
याद गरौँ—
ग्यास फेरि आउला,
घर फेरि बन्ला,
सम्पत्ति फेरि कमाइएला,
तर
एकपटक बगेको जीवन
फर्केर आउँदैन।६।
आज आवश्यकता
ग्यास तान्ने हातको होइन,
लास उठाउने हातको हो।
आज आवश्यकता
स्वार्थी भीडको होइन,
मानवीय हृदयको हो।७।

