-जयराम बिडारी
असार ७, काठमाडौँ
नेपालको इतिहासमा जंगबहादुर राणाको उदय, उनका दूरगामी कूटनीतिक कदम र राष्ट्रिय सार्वभौमिकताको रक्षाका निम्ति उनले निर्वाह गरेको भूमिकालाई केन्द्रमा राखेर राजधानीमा एक विशेष विचारगोष्ठी तथा प्रवचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। श्री ३ जङ्ग संस्था र नागरिक शक्ति नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको थियो ।
राष्ट्रिय गानको धुनसँगै देशभक्तिपूर्ण वातावरणमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीद्वारा पानसमा द्वीप प्रज्वलन गरी समारोहको समुद्घाटन गरिएको थियो । भने क्याप्टेन विकास ज. ब. रा. ले आमन्त्रित पाहुनाहरूलाई शब्दकुसुमद्वारा स्वागत गर्दै वर्तमान नेपालको भूगोल निर्माण र संरक्षणमा जंगबहादुर राणाको योगदान र नेपालको सार्वभौमिकता रक्षा गर्न उनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । 
समारोहको मुख्य आकर्षणका रूपमा रहेका चारवटा प्राज्ञिक प्रवचनहरूमा जंगबहादुर राणाका विविध पक्षमाथि गहन विश्लेषण प्रस्तुत गरिएको थियो ।
सो समारोहमा सम्बोधन गर्दै प्रा.डा. रामप्रसाद उपाध्यायले ‘श्री ३ महाराज जंगबहादुर राणाको कुटनीति’ माथि प्रकाश पारे । उपाध्यायले दक्षिण एसियामा ब्रिटिश साम्राज्यको जगजगी रहेका बेला नेपालको भूगोल र सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरले खेलेको कुटनीतिक चातुर्य र अन्तर्राष्ट्रिय सम्बन्धमा गहन र साहसिक भूमिकाको चर्चा गरे । । सन् १८५० मा जंगबहादुरले गरेको ऐतिहासिक बेलायत र फ्रान्सको यात्रा, महारानी भिक्टोरियासँगको भेटलाई’History of Nepal’ मा संकलित तथ्यहरूले नेपालको अन्तर्राष्ट्रिय साख बढाउन उनको कुटनीति अद्वितीय रहेको पुष्टि गर्ने उनको तर्क थियो । नेपाली राजनीतिमा कुटिलता साहश र सौर्य र राष्ट्रवादीका प्रतीक जंगबहादुरको योगदान भूतो न भविष्यतिको रुपमा रहेको उल्लेख गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले ‘धर्म र संस्कृतिको संरक्षणमा श्री ३ महाराज जंगबहादुर राणा’ को भूमिकाबारे चर्चा गरे । गुरुङका अनुसार तत्कालीन समयमा रणबहादुर शाहको हत्या, कोतपर्व र भण्डारखाल पर्व जस्ता हिंसात्मक घटनाका कारण दरबार तथा राष्ट्र अपवित्र भएको जनविश्वास थियो । सोही पापमोचनका लागि जंगबहादुरले कालमोचन घाट र सत्यनारायण मन्दिरको निर्माणका साथै बाला त्रिपुरासुन्दरीको मूर्ति स्थापना गराएका थिए । नेपाली सेनाले भोट युद्धमा विजय प्राप्त गरेपछि नेपालले करिब एक दशकसम्म त्यहाँबाट प्राप्त गरेको धनराशिलाई भूमि व्यवस्थापन, सेनाको आधुनिकीकरण र सैन्य कानुन निर्माण जस्ता सामाजिक सुधारका कार्यमा उपयोग गरेको उनले उल्लेख गरे । यसका साथै, जंगबहादुरले एक इस्तिहार जारी गर्दै भोट युद्धमा सहभागी भएका राजपुत ठाकुर र खसहरूलाई समेत ‘क्षेत्री’ को दर्जा दिएका थिए । यसरी जंगबहादुरले सनातन धर्म र सांस्कृतिक सम्पदाको संरक्षणमा एउटा बलियो ऐतिहासिक जग बसालेको तथ्य डा. गुरुङले उजागर गरे । 
सो समारोहमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले ‘श्री ३ महाराज जंगबहादुर राणाको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै तत्कालीन राजनीतिक परिस्थितिको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्नेमा जोड दिएका छन् । जंगबहादुरलाई इतिहासमा ‘खलपात्र’ मात्र बनाइनु न्यायसंगत नहुने जिकिर गर्दै उनले प्रजातान्त्रिक अभ्यास नै नभएको त्यस युगमा कोतपर्व, भण्डारखाल पर्व र अलौ पर्व जस्ता कठोर कदम चालिए तापनि ५० जनाभन्दा कमको मात्र मानवीय क्षति भएको उल्लेख गरे । त्रिपाठीले प्रजातान्त्रिक भनिएका शासन व्यवस्थाहरूमा हजारौँ मानिसले ज्यान गुमाउनु परेको प्रसंग कोट्याउँदै, न्यून क्षतिमा देशको राष्ट्रिय अस्मिता जोगाउने जंगबहादुरको ऐतिहासिक कदमलाई बंग्याउन नहुने तर्क गरे । उनले जंगबहादुरले नै देशलाई एउटा बलियो र अखण्ड केन्द्रीय सत्ता दिन सफल भएको स्पष्ट पार्दै, उनको योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.रमेशकुमार ढुङ्गेलले ‘बेलायती दृष्टिमा श्री ३ महाराज जंगबहादुर राणा’ विषयमा केन्द्रित रहेर आफ्ना महत्त्वपूर्ण विचारहरू प्रस्तुत गरे । उनले तत्कालीन बेलायती इतिहासकार बी. एच. हड्सनका संस्मरणहरू तथा त्यस समयका ऐतिहासिक सरकारी दस्ताबेजहरूलाई मुख्य स्रोतका रूपमा प्रस्तुत गर्दै जंगबहादुरको कूटनीतिक सामर्थ्यमाथि प्रकाश पारे ।
डा. ढुङ्गेलले इतिहासको एक निकै संवेदनशील प्रसंग उल्लेख गर्दै भने कि सन् १८५७ मा भारतमा तत्कालीन ब्रिटिस साम्राज्यविरुद्ध भीषण ‘लखनउ सिपाही विद्रोह’ चर्किएको उक्त कठिन परिस्थितिमा इस्ट इन्डिया कम्पनी सरकारलाई सहयोग गर्नका लागि श्री ३ जंगबहादुर राणा स्वयं १४ हजार नेपाली सेनाको विशाल टोली लिएर युद्धमैदानतर्फ प्रस्थान गरेका थिए । सैन्य सहयोगबापत जंगबहादुरले बेलायती सरकारसँग असाधारण कूटनीतिक सम्झौता गरे । जसको फलस्वरूप, सन् १८६० मा ब्रिटिस सरकारले सन् १८१६ को सुगौली सन्धिमार्फत नेपालले गुमाउनु परेको पश्चिम तराईको महत्त्वपूर्ण भूभाग अर्थात् (नयाँ मुलुक) बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गर्यो । र जंगबहादुरले सिमानामा जंगे पिल्लरको निर्माण गरी अकण्टक राज्यका रुपमा स्थापित गराएको बताए ।
प्रवचन पश्चात् समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीद्वारा इतिहासका सबै कालखण्डका उपलब्धि र कमजोरीहरूको निष्पक्ष मूल्यांकन हुनुपर्ने धारणा राखिएको थियो । वर्तमान समयमा राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डता र लोकतन्त्रको सुदृढीकरणका लागि इतिहासका यस्ता गम्भीर पाठहरू मनन गर्नु दूरगामी महत्त्वको हुने उनको भनाइ थियो । सोही समारोहमा महेश राणाद्वारा लिखित ‘जंगबहादुरको सेतो घोडा’ पूर्व राष्ट्रपति भण्डारीलाई अर्पण गरिएको थियो । 

