-माधव घिमिरे ‘अटल’
गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालद्वारा यही वैशाख १६ देखि १९ गतेसम्म चारदिवसीय अध्ययन अवलोकन भ्रमण सम्पन्न गरिएको छ ।
सुवर्णपुर, माडी र बन्दीपुर अध्ययन अवलोकन भ्रमणको उक्त टोलीमा भिटोफ नेपालका नवनिर्वाचित अध्यक्ष हरिशरण थपलिया, प्रथम उपध्यक्ष मनहरी दाहाल, द्वितीय उपाध्यक्ष विनोद वस्ति, महासचिव अजिब भट्ट, सचिव सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने, प्रमुख सल्लाहकार डा. आलोक प्रसाईं, सल्लाहकार: डा. बीपी बडाल, टुर्गानका अध्यक्ष थानेश्वर देवकोटा, रैथाने कृषि उत्पादनका अध्यक्ष तिलक ढकाल, लेखक तथा पर्यटनविद् अशोक सिलवाल, तारागाउँ विकास समितिकी अधिकृत रश्मि श्रेष्ठ तथा उमा खड्का, रैथाने लेखक कवि शिव आचार्य, गाउँ पर्यटन प्रवर्धन मञ्चका पूर्व अध्यक्ष शिव लामिछाने लगायत मिडियाकर्मी सहभागी थिए ।
अवलोकन भ्रमणको नेतृत्व भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले गरेका थिए । सुवर्णपुर सुनाखरी मध्यवर्ती सामुदायिक होम स्टे ठोरीमा अन्तरक्रियात्मक विमर्श सम्पन्न भयो ।
मधेश प्रदेशकै पहिलो सामुदायिक घरवासका अध्यक्ष शम्भुराम पौडेलले पाहुनाहरुलाई स्वागत गर्न पाउँदा हर्षित भएको बताए । सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले भने सेतो नम्बर प्लेट भएको सफारी गाडीमा शनिवार र आइतवार पाहुनालाई सेवा दिन मनोवैज्ञानिक रुपले अप्ठ्यारो भएको गुनासो राखे । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले शाब्दिक रुपमा जङ्गल वा नदी आसपासको सानो, खुला एवं बसोवासयोग्य क्षेत्रलाई ठोरी भनिने तर्क गर्दै ठोरी गापा मधेश प्रदेशको एकमात्र पहाडीयाहरूको बहुमत भएको पालिका भएको अवगत गराए । केन्द्रले मधेस अनि प्रदेशले पहाड मानिदिने विडम्बनाले पर्याप्त बजेट विनियोजन हुन नसकेको गुनासो राख्दै पर्यटन विकासको पर्याप्त सम्भावना हुँदाहुँदै सुवर्णपुर सुनाखरी होमस्टे छायाँमा परेको उनको प्रस्टोक्ति थियो ।
यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ | वीरगन्ज महानगरबाट करिब ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावर अवलोकन गर्न पाइन्छ | यहाँ बाघमोर्चा माई, बौद्ध गुम्बा, कृष्ण प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् | एउटा घरबासमा दुई वटा कोठामा पाहुना बस्ने व्यवस्था छ | यस क्षेत्रमा भारतीय पर्यटकहरुको राम्रो आवतजावत हुन्छ | हुलाकी राजमार्ग पुनर्निर्माण हुनासाथ यो क्षेत्र नेपालकै एक नमुना क्षेत्र हुने परिकल्पना गर्न सकिन्छ ।
१७ गते सुवर्णपुरको कार्यक्रमपश्चात टोली राम जन्मभूमि अयोध्यापुरी पुग्यो । मान्डव्य ऋषिको तपस्यास्थल माडीमा अवस्थित राम मन्दिरको दर्शन गर्यो । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जले घेरिएको, सरयु र घाघरा नदीले सिंचित भव्य प्राकृतिक पर्यापर्यटनको केन्द्र नै माडी हो | यस्तै भगवान् रामको जन्मभूमि माता जानकीको स्वर्ग गमन, लवकुशको जन्म स्थान वाल्मीकि रामायण लेखिएको पवित्र दिव्यधाम अयोध्यापुरी अर्थात् धार्मिक पर्यटनको केन्द्र नै माडी हो | सात समुदायको सात होम स्टे सात संस्कृतिको क्षेत्र नै माडी हो | सोमेश्वर महादेव, शनिमन्दिर, पाण्डवनगर, द्रौपदीनगर यस क्षेत्रका अन्य प्रशिद्ध पर्यटकीय गन्तव्य हुन् ।
‘माडी नगरपालिका भित्र रहेका सातवटै विभिन्न जातीय समुदायमा आधारित सामुदायिक होमस्टेहरूमा अतिथि व्यवस्थापन प्रणाली पूर्ण रूपमा लागू भएको छ ।
अब माडी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले एउटै डिजिटल प्लेटफर्ममार्फत आफूले चाहेको होम स्टेमा खाली कोठाको उपलब्धता हेर्न, खाना तथा खाजाको दररेट बुझ्न र विभिन्न पर्यटकीय प्याकेजहरूको विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् । यसका साथै पर्यटकहरूले घरमै बसेर प्रत्यक्ष बुकिङ गर्ने र आफ्ना गुनासाहरू समेत डिजिटल माध्यमबाटै दर्ता गराउन सक्ने सुविधा प्राप्त गर्नेछन्’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत् प्रसाद भुसालले बताए । बघौडा सामुदायिक होमस्टेका अध्यक्ष राजपतिया चौधरीले थारु सङ्ग्रहालय बनाउन स्थानीय सरकारसँग सहयोगको माग गरिन् । ‘यहाँ सात सीमान्तकृत समुदायको सात वटा सामुदायिक होम स्टे सञ्चालनमा छन् । अब दु:ख गर्न अरबका खाडी जानु पर्दैन, यहीं राम्रो खेती-किसानी गरेर, माछापालन गरेर सजिलै जीवन यापन गर्न सकिन्छ’, मगरगाउँ होम स्टेका अध्यक्ष मोहनबहादुर पुन मगरले बताए ।
यसैगरी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको पर्यटन मार्टले ‘समृद्ध गाउँ, सशक्त पर्यटन’ को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित १० बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक होम स्टेमा स्थानीय उत्पादन, हस्तकला र परिकारहरूको प्रवर्द्धनका लागि स्थानीय तहसँग सहकार्य गरेर ‘कोसेली घर’ स्थापना गर्न पहल गर्ने; प्रत्येक वर्ष आयोजना हुने मार्टमा ‘बेस्ट होमस्टे अफ द इयर’ पुरस्कार स्थापना गरी गुणस्तरीय सेवा र प्रतिस्पर्धात्मक विकासलाई प्रोत्साहन गर्ने; ‘होम स्टेमा स्वच्छता, आतिथ्य र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने रणनीति अपनाइने, गाउँ पर्यटनमा युवाहरूको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गर्ने, गाउँ पर्यटन गन्तव्यहरूबीच आन्तरिक पर्यटन प्रवर्द्धन र सहकार्य विस्तार गर्दै संयुक्त ‘प्याकेज’ तथा कार्यक्रमहरू विकास गर्ने विषयहरु रहेका छन् ।
शिरमा शिरबन्दी लगाएकी पहाडकी रानी बन्दीपुर प्रकृति, संस्कृति, र आधुनिक प्रविधिसँगै अगाडि बढेकी छन् । सांस्कृतिक रुपले पुरानो भक्तपुरे बस्ती यानि चखिंचाको थाइले, कुइले, चण्डनी र थानीमाईको अर्थात् भक्तपुरको

