काठमाडौँ — वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको ‘वसुन्धराश्री पुरस्कार’ वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धमार्फत नेपाली साहित्यलाई समृद्ध बनाएको योगदानको मूल्यांकन गर्दै चन्दलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए। चन्दले नेपाली वाङ्मयलाई गरिमामय बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा भाषा र साहित्यको पहिचान उचो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
वि.सं. १९९७ मा बैतडी मा जन्मिएका चन्दका विसर्जन, हिउँको तन्ना, बाह्रौँ खेलाडी, अपराजिता र नेताका साथी लगायत कृतिहरू प्रकाशित छन्।
यसैगरी, प्रतिष्ठानले ‘मानश्री पुरस्कार’ स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ। योग, ध्यान, आध्यात्मिक दर्शन तथा साहित्यको विकासमार्फत नेपाली सभ्यता र वाङ्मयको उन्नयनमा पुर्याएको योगदानका लागि उनलाई सम्मान गर्न लागिएको हो।
वि.सं. २००१ मा जनकपुर मा जन्मिएका आनन्द अरुणका अन्तरयात्रा, सन्तगाथा, सन्तदर्शन र अचम्म जो देखेँ मैले लगायत कृतिहरू प्रकाशित छन्। उनका पुस्तकहरू अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुवाद भएका छन्।
दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

