तोमनाथ उप्रेती
मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो किरणले हरियो खेतलाई स्पर्श गर्दा पृथ्वी आफैँ मुस्कुराइरहेकी जस्तो लाग्थ्यो। गाउँको कच्ची बाटोछेउ बाँसका झ्याङहरू सुसाउँथे। टाढा रतुवा खोलाको पानी बिस्तारै बगिरहन्थ्यो। सिमलका र सालका रुखमाथि चराहरू बिहानको गीत गाउँथे। खेतका आलीमा बकुल्लाहरू स्थिर उभिन्थे, मानौँ समय आफैँ केही क्षणका लागि रोकिएको हो।
त्यही सुन्दर गाउँको एउटा सानो फुसको घरमा बस्थ्यो पन्ध्र वर्षको किशोर—दीपेश।
दीपेशको घरमा सम्पत्ति भन्नु तीन कठ्ठा खेत, एउटा दुब्लो गाई र पुरानो साइकल मात्र थियो। उसका बुबा रामबहादुर भारतको सीमावर्ती क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्थे। आमा माया देवी अरूको खेतमा रोपाइँ र कटाइँ गरेर घर चलाउँथिन्। सानो बहिनी सुनिता सरकारी विद्यालयको कक्षा पाँचमा पढ्थी।
गरिबी उनीहरूको घरको पुरानो पाहुना थियो। तर त्यहाँ माया थियो। अभाव थियो, तर हाँसो पनि थियो।
हरेक बिहान आमा भन्थिन्,
“दीपेश, राम्रोसँग पढ बाबु। तिमी पढ्यौ भने हाम्रो घरको भाग्य बदलिन्छ।”
दीपेश मुसुक्क हाँस्थ्यो।
“एक दिन तपाईंलाई इँटाको घर बनाइदिन्छु, आमा।”
आमाका आँखा त्यसैभरि रसाउँथे। तर सपनालाई कहिलेकाहीँ गरिबीभन्दा खतरनाक शत्रु भेटिन्छ।
विद्यालयमा केही नयाँ साथी बने। उनीहरू महँगा जुत्ता लगाउँथे। हातमा मोबाइल हुन्थ्यो। उनीहरू धूम्रपान गर्थे। भेप तान्थे। गाउँको पुलमुनि बसेर धुवाँ उडाउँदा आफूलाई संसारकै शक्तिशाली ठान्थे।
एक दिन उनीहरूले दीपेशलाई भने,”एक सर्को तान्दा के हुन्छ र? पुरुष हुनुपर्छ।”
दीपेशले सुरुमा अस्वीकार गर्यो।तर उपहास सुरु भयो।
“डरपोक!””आमाको काखबाट ननिस्केको बच्चा!” आत्मसम्मानभन्दा ठूलो दबाब त्यो उमेरमा अरू के हुन सक्थ्यो? उसले पहिलो चुरोट समात्यो।
पहिलो सर्कोले घाँटी पोल्यो।साथीहरू हाँसे।
उनीहरूलाई त्यो मनोरञ्जन थियो।तर दीपेशलाई थाहा थिएन, त्यो धुवाँले उसको जीवनको उज्यालो बिस्तारै निल्न थालेको थियो।केही महिनापछि चुरोट सामान्य भयो।
त्यसपछि गाँजा।त्यसपछि नशाका अरू पदार्थ।घरबाट पैसा हराउन थाल्यो।आमाले लुकाएर राखेको चामल बेचियो।
बहिनीको विद्यालय शुल्कका लागि राखिएको पैसा हरायो।
बुबाको पसिनाले किनिएको साइकल पनि एकदिन बेपत्ता भयो।
रामबहादुरले पहिलोपटक छोरालाई थप्पड हाने।
“किन यस्तो गरिस्?” दीपेश चिच्यायो।
“मेरो जीवन हो। तपाईंलाई के मतलब?”
त्यो दिन बुबाको अनुहारमा थप्पडको पीडाभन्दा ठूलो घाउ परेको थियो।
महादेवाको साँझ पहिले जस्तो सुन्दर थियो।धानका खेतमा हावा नाचिरहेकी थिई।तर दीपेशको घरभित्र अन्धकार बाक्लिँदै थियो।आमा रातभरि रुन थालिन्।बहिनीले पढाइ छोडिन्।किनकि विद्यालयको शुल्क तिर्न सकिएन।गाउँलेहरू बिस्तारै उनीहरूको घरबाट टाढिन थाले।
एक समय सबैको प्रिय रहेको दीपेश अब गाउँको डर बनिसकेको थियो।नशाको अभाव हुँदा ऊ आफ्नै आमालाई धकेल्थ्यो।बहिनीसँग कराउँथ्यो।आफ्नै घरका भाँडा बेच्थ्यो।उसले ऐनामा हेर्दा आफूलाई चिन्न छोडिसकेको थियो।
एक रात सीमावर्ती क्षेत्रमा अवैध लागुपदार्थ ओसारपसार गर्ने गिरोहले उसलाई प्रयोग गर्यो।”झोला मात्र पारि पुर्याइदे।”पाँच हजार रुपैयाँ दिने वाचा भयो।दीपेशका लागि त्यो ठूलो रकम थियो।उसले सोध्यो पनि,”भित्र के छ?””जान्नुपर्ने कुरा होइन।”सीमाको अँध्यारो रात।
दुई देशबीचको खुला बाटो थियो।
टाढाबाट कुकुरहरूको भुकाइ सुनिन्थ्यो। रात गाढा हुँदै गइरहेको थियो। अचानक प्रहरीको टर्चको उज्यालो अँध्यारो चिर्दै चम्कियो।
“रोक!”
एकैछिनमा सबै भागे। गिरोहका मानिसहरू अँध्यारोमा हराए। समातियो केवल दीपेश।
ऊ अझै नाबालक थियो। तर अपराधले उमेर हेर्दैन।
भोलिपल्ट समाचार गाउँभरि डढेलोजस्तै फैलियो। रामबहादुर प्रहरी कार्यालय पुगे। साङ्लाभित्र उभिएको छोरालाई देख्नेबित्तिकै उनका ओठ खुलेनन्। उनले केवल काँपिरहेको हात फलामे साङ्लोतिर बढाए।
दीपेश पहिलोपटक भक्कानिएर रोयो।
“बुबा… म घर जान्छु…”
रामबहादुरले आँसु लुकाउँदै बिस्तारै भने,
“बाबु… घर त तिम्रो कहिल्यै बन्द भएको थिएन। तिमी आफैँ बाटो बिर्सियौ।”
ती शब्दहरू कुनै सजाय थिएनन्। ती एउटा बाबुको भाँचिएको हृदयको मौन स्वीकारोक्ति थिए।
केही महिनापछि पुनर्स्थापना केन्द्रको सहयोगमा दीपेश गाउँ फर्कियो। तर गाउँ उस्तै थिएन।
आमा लामो रोगले थलिएकी थिइन्। उपचारका लागि घरमा पैसा थिएन। उनले छोराको हात आफ्नो छातीमा राख्दै मुस्कुराउने प्रयास गरिन्।
“म सायद धेरै बाँच्दिनँ, बाबु। तर एउटा कुरा सम्झिराख। मलाई गरिबीले कहिल्यै रुवाएन। तिमी नशामा हराएको दिनले रुवायो।”
त्यही उनको अन्तिम वाक्य बन्यो।
त्यही रात उनी सधैँका लागि निदाइन्।
रतुवा खोलाको किनारमा उनको चिहान बनाइयो। बाहिर निरन्तर वर्षा परिरहेको थियो। धानका खेतहरू फेरि हरिया थिए। चराहरू फेरि गाउँदै थिए। प्रकृतिले आफ्नो चक्र रोकेको थिएन। ऋतु फेरिएको थियो, तर एउटा परिवारको समय भने त्यहीँ थामिएको थियो।
दीपेश चिहानअगाडि घुँडा टेकेर धेरैबेर रोइरह्यो।
त्यस दिन उसले पहिलोपटक बुझ्यो—
चुरोटको पहिलो सर्को केवल धुवाँ थिएन। त्यो उसकी आमाको मुस्कान जलाउने आगो थियो।
गाँजाको पहिलो कश केवल लत थिएन। त्यो उसकी बहिनीको पढाइ चोर्ने हात थियो।
अवैध लागुपदार्थ केवल व्यापार थिएन। त्यो हजारौँ गरिब परिवारको भविष्य किनबेच हुने निर्दयी बजार थियो।
वर्षौँ बिते।
महादेवाको विद्यालयमा लागुपदार्थविरुद्ध सचेतना कार्यक्रम आयोजना भयो। मञ्चमा उभिएको व्यक्ति दुब्लो थियो। अनुहारमा समयले कोरेका गहिरा दाग थिए। तर सबैभन्दा गहिरो घाउ उसका आँखाभित्र थियो—पश्चात्तापको अथाह समुद्र।
ऊ दीपेश नै थियो।
उसले केही क्षण विद्यार्थीहरूलाई निहार्यो। हल पूर्ण मौन थियो।
उसले माइक समातेर यति मात्र भन्यो—
“मेरो कथा सफलताको होइन। मेरो कथा चेतावनीको हो।
यदि कुनै दिन कसैले ‘एक पटक मात्र’ भनेर चुरोट, भेप, गाँजा, रक्सी वा कुनै पनि लागुपदार्थ तिम्रो हातमा थमाउन खोज्छ भने सम्झिनू—उसले तिमीलाई कुनै वस्तु दिइरहेको हुँदैन। उसले तिम्रो भविष्य खोसिरहेको हुन्छ। उसले तिम्री आमाको आँसु, तिम्रा बाबुको झुकेको शिर, तिम्रा भाइबहिनीको अधुरो सपना र तिम्रो आफ्नै जीवन तिम्रो हातबाट चोर्न खोजिरहेको हुन्छ।
मलाई हेरेर सिक। मेरो गल्ती दोहोर्याउनू पर्दैन।”
हलभरि सन्नाटा छायो।
पहिलो पङ्क्तिमा बसेकी एउटी सानी छात्राले चुपचाप आफ्नो झोलाभित्र लुकाएर राखेको चुरोटको बट्टा निकालिन् र डस्टबिनमा फालिन्।
कसैले ताली बजाएन।
किनकि त्यो क्षण उत्सवको थिएन, आत्मबोधको थियो।
सायद त्यही क्षण एउटा जीवन बच्यो।
सायद एउटा परिवार बच्यो।
सायद कुनै अर्को आमाले आफ्ना छोराको चिहानमा रोइरहनु परेन।
बाहिर फेरि हावा चल्यो। धानका बाला बिस्तारै हल्लिए। रतुवा खोलाको पानी शान्त स्वरमा बगिरह्यो। अस्ताउँदै गरेको सूर्यका किरणहरू बादल चिरेर गाउँमाथि फैलिन थाले।
मानौँ प्रकृतिले मानिसहरूलाई एउटा अमिट सत्य सम्झाइरहेकी थिई—
“सपना उम्रिन वर्षौँ लाग्छ; तर नशाको एउटा सर्कोले ती सपना जलाउन केही सेकेन्ड मात्र पर्याप्त हुन्छ। एउटा गलत निर्णयले जीवन बिगार्न सक्छ, तर एउटा सही निर्णयले पुस्तौँ जोगाउन सक्छ।”

