काठमाडौँ । फ्रान्सका कप्तान एम्बाप्पेले फिफा विश्वकप–२०२६ मा अर्जेन्टिनी कप्तान मेस्सीको गोलसंख्या बराबरी गरेका छन्।
जारी विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे र मेसी समान ६–६ गोलसहित शीर्ष स्थानमा रहेका छन्। २७ वर्षीय एम्बाप्पेले केवल चार खेलमा ६ गोल गर्दै उत्कृष्ट लय कायम गरेका छन् भने ३९ वर्षीय मेसीले पनि समान गोल गर्दै गोल्डेन बुटको प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका छन्।
एम्बाप्पेकै दुई गोलको मद्दतमा फ्रान्सले बुधबार बिहान स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो। उनले जारी प्रतियोगितामा ६ गोलका साथै दुई असिस्टसमेत गरेका छन्।
मेसीले समूह चरणमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए। त्यसपछि उनले जोर्डनविरुद्ध एक गोल तथा अस्ट्रियाविरुद्ध दुई गोल गर्दै आफ्नो कुल गोलसंख्या ६ पुर्याएका हुन्।
यता एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल गरेका थिए। स्वीडेनविरुद्ध थप दुई गोल गर्दै उनले मेसीको बराबरी गरेका हुन्।

गोल्डेन बुटको प्रतिस्पर्धामा अब एम्बाप्पे र मेसी दुई जना नै प्रवल दाबेदार छन्। उनीहरूलाई नर्वेका एर्लिङ हालाण्डले पाँच गोलसहित पछ्याइरहेका छन्।

