जलवायु न्यायको माग गर्दै काठमाडौंमा ट्रेड युनियन,संघ संस्था तथा नागरिक समाजको प्रदर्शन
ईश्वरी थापा
१५ नोभेम्बर ,काठमाडौ ।
जलवायु न्यायको माग गर्दै नेपालसहित एसियाका विभिन्न देशमा विश्वव्यापी कार्यदिवस (Global Day of Action) मनाइएको छ।
यसैक्रममा २०२६ नोभेम्बर १४, शनिबार काठमाडौंमा नेपाल ट्रेड युनियन महासंघ (GEFONT), एलडीसी वाच, ग्रामीण पुनर्निर्माण नेपाल (RRN) र दक्षिण एसियाली गरिबी उन्मूलन गठबन्धन (SAAPE) को नेतृत्वमा संघ संस्था,नागरिक समाज, ट्रेड युनियन तथा विभिन्न जनसङ्गठनहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा जलवायु क्षतिको क्षतिपूर्ति, पर्याप्त सार्वजनिक जलवायु वित्त र श्रमिक, किसान तथा जोखिममा रहेका समुदायको अधिकार सुनिश्चित गर्न माग गरिएको थियो।
GEFONT का महासचिव ;लक्ष्मण शर्माले जलवायु सङ्कटको प्रत्यक्ष असर कृषि, निर्माण, यातायात तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूमा परिरहेको बताउँदै न्यायपूर्ण रूपान्तरणमा मर्यादित रोजगारी, सामाजिक सुरक्षा, पेसागत स्वास्थ्य र श्रमिकको सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिए।
त्यसैगरी, RRN की निक्की श्रेष्ठले जलवायु वित्त ऋणका रूपमा नभई सार्वजनिक अनुदानका रूपमा उपलब्ध गराउन विकसित देशहरूसँग माग गरिन् ।
SAAPE की रेश्मा शाक्यले जलवायु न्यायका लागि दक्षिण एसियाली समुदायबीच क्षेत्रीय ऐक्यबद्धता आवश्यक रहेको बताइन्।
APMDD की संयोजक लिडी नाक्पिलले जलवायु सङ्कटमा ऐतिहासिक जिम्मेवारी बढी भएका विकसित राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्ने भनाई व्यक्त गरिन्।
टर्कीको अन्ताल्यामा जारी COP31 को सन्दर्भमा आयोजित अभियानले जलवायु सङ्कट सिर्जना गर्ने राष्ट्रहरूले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र न्यायपूर्ण रूपान्तरणमा जनताको जीवन तथा जीविकोपार्जनलाई केन्द्रमा राख्नुपर्ने साझा धारणाको सन्देश दिएको छ।

