काठमाडौं, भदौ १६ —
नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा मोबाइल साइट सञ्चालनमा ल्याएको छ। बुधबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सुचारु गरिएको नेपाल टेलिकमले जनाएको छ।
कल्लेरी साइट सञ्चालनमा आएसँगै आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टार लगायतका क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन्।
त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी क्षेत्र तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशी लगायतका क्षेत्रका सेवाग्राहीले पुनः नेटवर्क सेवा प्राप्त गर्नेछन्।
यससँगै बाढीबाट प्रभावित भएका १२० साइटमध्ये ११३ वटा साइट सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका अनुसार यसबाट बाढीअघि नेटवर्क उपलब्ध रहेका प्रायः सबै स्थानमा पुनः सञ्चार सेवा पुगेको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध दूरसञ्चार सेवा क्रमशः पुनःस्थापित हुँदै जाँदा प्रभावित क्षेत्रका नागरिकलाई सूचना आदानप्रदान तथा उद्धार, राहत र पुनःस्थापनाका गतिविधिमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

