काठमाडौं, मंसिर ७। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज सोमबार उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय वार्ता, विभिन्न परियोजनाको उद्घाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा सहभागी हुँदैछन्।
निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे भारतको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
प्रधानमन्त्री शाहले बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ।
द्विपक्षीय वार्तामा विपद् व्यवस्थापन, खेलकुद, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा, सडक तथा सूचना प्रविधिलगायतका १० क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ।
त्यसैगरी, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन तथा धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुल निर्माणका विषय पनि वार्ताको एजेन्डामा समेटिएका छन्।
द्विपक्षीय वार्तापछि दिउँसो १२ः३५ बजे दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्ने, समझदारीपत्र तथा सम्झौता आदानप्रदान गर्ने र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ।
यद्यपि, सार्वजनिक गरिएको द्विपक्षीय वार्ताको एजेन्डामा नेपालले लामो समयदेखि उठाउँदै आएका हवाई प्रवेश मार्ग र सीमा विवादका विषय समावेश छैनन्। यी विषय एजेन्डामा नपरेपछि भ्रमणका क्रममा तिनले प्राथमिकता पाउने वा नपाउने भन्ने चासोसमेत देखिएको छ।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले दिउँसो १ः१५ बजे प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ।

