नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर – BNPL) सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यस सम्बन्धमा इसेवाको केन्द्रीय कार्यालयमा गत असोज ८ गते आयोजित एक कार्यक्रममा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर भएको हो । साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रा.लिका तर्फबाट श्री मनन तुलाधरले हस्ताक्षर गर्नुभयो ।
यस साझेदारीअन्तर्गत ग्राहकले पारमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत BNPL सुविधा लिन सक्ने छन्। रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।
सहज डिजिटल प्रक्रियाका साथै किस्ताबन्दी सुविधा
यस सेवाअन्तर्गत ग्राहकहरूले विद्युतीय स्कुटर खरिदका लागि सहज र डिजिटल माध्यमबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी BNPL सुविधा लिन सक्नेछन्।
यसअन्तर्गत रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ग्राहकहरूलाई ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्रदान गर्नेछ। ग्राहकहरूले अधिकतम ३६ महिनासम्मको सहज किस्ताबन्दीमा उक्त ऋण चुक्ता गर्न सक्ने छन् । यसले ग्राहकलाई एकैपटक ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै आवश्यकताअनुसार किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ ।
डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातलाई प्रोत्साहन
इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउँदै ग्राहकका दैनिक आवश्यकताहरू पूरा गर्न विभिन्न नवीन समाधानहरू विकास गर्दै आएको छ । BNPL सेवा पनि ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने यही प्रयासको निरन्तरता रहेको इसेवाले जनाएको छ ।
त्यस्तै, विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यस साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीले विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको निर्माणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
यस त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाहरूको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । इसेवाले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै नवीन डिजिटल समाधानहरू विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

