काठमाडौं । बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने भएकाले नेपालमा बुधबारदेखि वर्षा बढ्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ जारी गरेको दोस्रो विशेष मौसम बुलेटिनमार्फत बुधबार (असोज ७) देखि कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा बढ्दै जाने जनाएको हो।
महाशाखाका अनुसार मौसम प्रणाली थप सशक्त बन्दै गएमा असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी मधेस प्रदेश तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाको चेतावनी छ। सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने जनाइएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।
धानबाली भित्र्याउने समय नजिकिएकाले मौसमसम्बन्धी जानकारी आवश्यक परेका किसानलाई सम्बन्धित कृषि विज्ञको सल्लाहअनुसार काम गर्न पनि महाशाखाले अनुरोध गरेको छ।
यस्तै, मौसम प्रणालीको प्रभावका कारण देशका हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

