बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीका हत्यारालाई कडा कारबाहीको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न अधिकारकर्मी तथा नागरिकले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले बालिकाको हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन्।
उनीहरूले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडा सजाय दिन सरकारसँग माग गरेका छन्। प्रदर्शनकारीहरूले पीडित परिवारलाई न्याय र आवश्यक सहयोग उपलब्ध गराउन तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनीहरूले गृहमन्त्री र कानुनमन्त्रीले घटनाबारे तत्काल सम्बोधन गर्दै न्याय सुनिश्चित गर्न प्रभावकारी पहल गर्नुपर्ने मागसमेत गरेका छन्।

