रसुवा
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको उद्धार आज बिहानैदेखि पुनः सुरु गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिइएको हो। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तथा घाइतेको तत्काल उपचार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गएराति सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रका घाइते नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरी प्रारम्भिक उपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी उपचार क्याम्पमा लगेर उपचार गरिनेछ।
बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, खोजी तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू परिचालन भएका छन्। प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राखिएको छ।

