भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार अभियान अझै जारी छ। शनिबार उद्धार टोलीले ११ दिनदेखि सम्पर्कविहीन रहेका दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको छ।
रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको करिब २२५ मिटर लामो सुरुङबाट चिनियाँ नागरिक लु हाइटाओलाई जीवितै निकालिएको हो। यसअघि सोही क्षेत्रका दुई नेपाली कामदारलाई पनि सुरुङबाट जीवित उद्धार गरिएको थियो।
त्यसै दिन नुवाकोटको बेत्रावतीमा भग्नावशेषमा फसेकी एक महिलालाई समेत जीवित उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको थियो। लगातारको उद्धार प्रयासबीच यस्ता घटनाले अझै पनि सुरुङ तथा भग्नावशेषमा फसेकाहरू जीवित हुन सक्ने आशा जगाएको छ।

