काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।
प्रशासनका अनुसार कर्फ्यु हरिनगर बजारको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्म लागू गरिएको छ।
आइतबार राति बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद भएपछि झडप भएको थियो। झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा नौ जना सर्वसाधारण, नेपाल प्रहरीका आठ जना र सशस्त्र प्रहरीका पाँच जना गरी २२ जना घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


