काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा बिहान १०:२५ बजे आयोजना हुने कार्यक्रममा नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायत उच्च अधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमअनुसार मन्त्री, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङमार्गभित्र सवारी चलाएर औपचारिक रूपमा सञ्चालनको शुभारम्भ गर्नेछन्।
प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिन सुरक्षा र ट्राफिक व्यवस्थापनको परीक्षण गरेपछि सबै प्रकारका अनुमति प्राप्त सवारीसाधनका लागि सञ्चालन खुला गरिनेछ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क लिइने छैन।
कुल २,६८८ मिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि कार र भ्यानले काठमाडौं प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौंतर्फ रु ११५ तथा बाहिरिँदा रु ८० शुल्क निर्धारण गरिएको छ। त्यस्तै बस र ठूला ट्रकले काठमाडौं आउँदा रु २६० र बाहिरिँदा रु २०० तिर्नुपर्ने सडक विभागले जनाएको छ।
पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।
आयोजनामा मुख्य र उद्धार गरी दुईवटा सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङबाट नियमित सवारी सञ्चालन हुनेछ भने उद्धार सुरुङ आपत्कालीन प्रयोजनका लागि प्रयोग गरिनेछ। सुरुङमार्गमा दमकल, आकस्मिक उद्धार प्रणाली, सिसिटिभी, सञ्चार सुविधा, सुरक्षा संयन्त्र तथा अक्सिजन आपूर्ति प्रणाली जडान गरिएको छ।
चन्द्रागिरि नगरपालिका–१ दहचोकको टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर टुङ्गिन्छ। यसको सञ्चालनपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटो छल्न सकिने भएकाले यात्रु र सवारीसाधनले करिब एक घण्टा समय बचत गर्ने अपेक्षा गरिएको छ।
जापान सरकारको करिब रु २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब रु ६ अर्ब लगानीमा निर्माण भएको यो सुरुङमार्ग जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको हो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी र अन्य प्राविधिक जटिलताका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

