काठमाडौं, कात्तिक ७।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पछिल्लो ३५ वर्षमा देशमा केही पनि भएन भन्ने भाष्यलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रममा बोल्दै नेपालले ३५ वर्षमा केही पनि भएन भन्ने दाबी तथ्यले पुष्टि गरे आफूहरू स्वीकार गर्न तयार रहेको बताएका हुन्।
‘यो भाष्यलाई तथ्य र प्रमाणले पुष्टि गर्छ भने स्वीकार्न तयार छौँ,’ उनले भने।
नेपालले पार्टीलाई जनतासँग जोड्न र जनताका मुद्दालाई प्राथमिकतामा राख्न राष्ट्रिय जागरण अभियान सुरु गरिएको बताए। जनताबाट टाढिएर होइन, जनतासँग नजिक भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्रका कमीकमजोरी सच्याउन आफूहरू तयार रहेको स्पष्ट पारे।
उनका अनुसार जनताका समस्या, अपेक्षा र गुनासो बुझ्दै पार्टीलाई जनमुखी बनाउनु अभियानको प्रमुख उद्देश्य हो।

