काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। यससँगै एमालेभित्र नयाँ मुख्यमन्त्री को बन्ने भन्ने विषयमा आन्तरिक छलफल तीव्र बनेको छ।
बागमती प्रदेशसभामा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया भए पनि मुख्यमन्त्रीका लागि अन्य नेताहरूको नाम पनि चर्चामा छ। चितवन–१ (१) बाट निर्वाचित थपलिया दलका निर्विरोध नेता हुन् र दलको नेताका हैसियतले उनको दाबी बलियो मानिएको छ।
यद्यपि, बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँगको राजनीतिक समीकरणमा आएको परिवर्तनले थपलियाको सम्भावनामा केही असर पर्न सक्ने चर्चा छ। त्यसका बाबजुद उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकाले मुख्यमन्त्रीको दौडमा अग्रस्थानमै रहेको बताइन्छ।
मुख्यमन्त्रीका अर्का प्रमुख दाबेदार काठमाडौं–९ (२) बाट निर्वाचित पूर्वमन्त्री केशवप्रसाद पोखरेल हुन्। प्रदेशसभामा लगातार दोस्रो कार्यकाल निर्वाचित भएका पोखरेलले वरिष्ठताका आधारमा नेतृत्वमा दाबी गरेका छन्। एमालेको संसदीय विधानमा संसदीय दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्नुपर्ने व्यवस्था नभएकाले अन्य सांसदलाई पनि अवसर रहने देखिएको छ।
यसैगरी, भक्तपुर–२ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य किरण थापाको नाम पनि मुख्यमन्त्रीको दौडमा छ। दुईपटक स्वास्थ्यमन्त्री भइसकेका थापा अध्यक्ष ओली र एमाले सचिव महेश बस्नेत निकट मानिन्छन्। कार्यसम्पादन र नेतृत्व क्षमताका आधारमा उनले पनि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्।
थापाले मुख्यमन्त्रीको विषयमा अन्तिम निर्णय पार्टीको शीर्ष नेतृत्वले गर्ने बताएका छन्। उनका अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नुपर्ने बाध्यकारी व्यवस्था नभएकाले नेतृत्व कसले गर्ने भन्ने निर्णय शीर्ष तहबाट हुनेछ।
हाल बागमती प्रदेशसभामा एमालेका २५ सांसद छन्। मुख्यमन्त्रीका आकांक्षी नेताहरूले पार्टी नेतृत्वसँग भेटघाट, आन्तरिक छलफल र राजनीतिक समन्वयलाई तीव्र बनाएका छन्। राजनीतिक अनुभव, संगठनमा योगदान र प्रदेश सरकार सञ्चालनको क्षमताका आधारमा नेतृत्वको विश्वास जित्ने प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ।
एमालेले मुख्यमन्त्रीको नाम टुंग्याएपछि नेकपासँग मन्त्रालय बाँडफाँट तथा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

