काठमाडौँ । फिफा विश्वकप–२०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी मैदानमै हातपातमा उत्रिएका छन्।
अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान खेल समाप्त हुनेबित्तिकै दुवै टोलीका खेलाडीबीच तनाव सिर्जना भएको हो। त्यसक्रममा अर्जेन्टिनाका खेलाडीहरूले स्पेनका खेलाडीमाथि आक्रमण गरेको जनाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले जितको खुसी मनाउँदै दौडिरहेका एक स्पेनिस खेलाडीको पेटमा मुक्का प्रहार गरेका थिए।
त्यसपछि अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेडेसले स्पेनका डिफेन्डर एरिक गार्सियाको घाँटी समातेका थिए। उनले स्पेनका अर्का मिडफिल्डर गाभीलाई भुइँमा पछार्दै लात्तीसमेत प्रहार गरेको बताइएको छ।
खेलपछि भएको उक्त घटनापछि दुवै टोलीका खेलाडी, प्रशिक्षक तथा सुरक्षाकर्मी मैदानमा प्रवेश गरी अवस्था नियन्त्रणमा लिएका थिए।
घटनाबारे फिफाले छानबिन गर्ने र संलग्न दोषी खेलाडीमाथि अनुशासनात्मक कारबाही हुन सक्ने अपेक्षा गरिएको छ।

