काठमाडौं । दोलखा र रामेछापमा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनाका लागि एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। मंगलबार वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच भएको सम्झौतामा बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका हुन्।
दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ बीच बग्ने खिम्ती (घ्वाङ) खोलामा निर्माण भइरहेको आयोजना २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते मन्त्रिपरिषद्बाट प्राप्त भइसकेको छ। आवश्यक जग्गा खरिद, निर्माण विद्युत् (कन्स्ट्रक्सन पावर) जडान, पहुँचमार्ग, गोदाम र आवासगृह निर्माण सम्पन्न भइसकेको छ भने सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माणका ठेक्का सम्झौता सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ।
आयोजनाको कुल लागत १ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको छ। त्यसमध्ये १ अर्ब २४ करोड रुपैयाँ ऋणमार्फत जुटाइनेछ भने बाँकी ५६ करोड रुपैयाँमध्ये ३५ करोड जुटिसकेको र बाँकी रकम असोजभित्र व्यवस्थापन गर्ने तयारी भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए।
उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने आयोजना नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामध्ये ‘हाइड्रो सेलेक्ट टुल्स’ मापदण्डअनुसार सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै निर्माण हुने पहिलो आयोजना हुनेछ।

