काठमाडौं । मोबाइल नदिएको विवादमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको रहस्य खुलेको छ।
साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका लजिनको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार जन्मदिन मनाउने क्रममा साथीहरूले राति अबेरसम्म मदिरा सेवन गरेका थिए। घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन मोबाइल माग्दा उनले दिन अस्वीकार गरेपछि विवाद चर्किएको र त्यसपछि कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार कुटपिटबाट लजिन बेहोस भएपछि उनको मृत्यु भएको र त्यसपछि घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा शव लगेर लुकाइएको थियो।
अनुसन्धानका क्रममा जन्मदिन मनाउन सात जना सहभागी रहेको खुलेको छ। अन्य साथी घर फर्किएपछि रेमबहादुर र ददीले लजिनलाई पछ्याउँदै एकान्तस्थलमा पुगेर आक्रमण गरेको प्रहरीको भनाइ छ। उनीहरू साउन १ गते राति करिब २ः३० बजेसम्म स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरिरहेको पनि अनुसन्धानबाट खुलेको छ। जन्मदिन कार्यक्रममा एक नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ।
लजिन सम्पर्कविहीन भएपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा मनखोलामा शव फेला परेको हो।
पक्राउ परेकाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौंको धुम्बाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि बिदामा घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी अन्ततः आफ्नै साथीहरूको आक्रमणमा ज्यान गुमाउन पुगे।

