काठमाडौं- पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोपछि नेपालका प्रख्यात पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।
बीबीसीका अनुसार बिहीबार काराकोरम पर्वत शृङ्खलाअन्तर्गत पर्ने ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएपछि टोलीसँग सम्पर्क टुटेको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले हिमपहिरोपछि टोलीको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताएका छन्।
बेपत्ता टोलीको नेतृत्व निर्मल पुर्जाले गरिरहेका थिए। टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका १० जना आरोही रहेका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीका अनुसार सम्बन्धित निकायसँग समन्वय भइरहेको छ र मौसम अनुकूल भए शुक्रबार बिहान हेलिकप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। कठिन र जोखिमपूर्ण आरोहणका लागि परिचित यस हिमालमा उद्धार अभियान मौसममा निर्भर रहने जनाइएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर बेपत्ता आरोहीहरूको खोजी गर्न निर्देशन दिएको छ। निर्मल पुर्जा सन् २०१९ मा केवल छ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गरेर विश्वव्यापी चर्चामा आएका थिए। उनी सन् २००३ मा बेलायती सेनामा भर्ना भएका थिए भने सन् २००९ मा रोयल मरिन बनेका थिए। उनको पर्वतारोहण यात्रा सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पदयात्राबाट सुरु भएको थियो।

