जनकपुरधाम । फकिरा महतोले प्रदेशवासीलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न आग्रह गरेका छन्।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री महतोले शुक्रबार जारी गरेको अपिलमा पछिल्लो समय प्रदेशका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव, हिंसा र उत्तेजनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबै नागरिकलाई संयम अपनाउन अनुरोध गरेका छन्।
अपिलमा मधेस प्रदेश विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा पहिचान बोकेको भूमि भएकाले सामाजिक एकता र सहअस्तित्व कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ। कुनै पनि घटना वा विवादलाई धार्मिक वा साम्प्रदायिक रङ दिएर समाजमा विभाजन सिर्जना गर्ने, अफवाह फैलाउने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गर्ने कार्यबाट टाढा रहन पनि प्रदेश सरकारले आग्रह गरेको छ।
प्रदेश सरकारले शान्ति, सुरक्षा र कानुनको शासन कायम राख्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। साथै, हिंसा, तोडफोड, आगजनी, घृणा फैलाउने तथा साम्प्रदायिक द्वेष भड्काउने गतिविधिमा संलग्न जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
अपिलमा धार्मिक अगुवा, बुद्धिजीवी, जनप्रतिनिधि, नागरिक समाज, शिक्षक, विद्यार्थी, सञ्चारमाध्यम तथा राजनीतिक दललाई संवेदनशील परिस्थितिमा संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। सामाजिक सद्भाव कायम राख्न सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको प्रदेश सरकारको भनाइ छ।
मन्त्री महतोले शान्ति, सद्भाव, आपसी सम्मान र सहअस्तित्व नै मधेस प्रदेशको सभ्यता र समृद्धिको आधार भएको उल्लेख गर्दै कुनै पनि उक्साहट वा भड्काउ गतिविधिमा नलागी प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न प्रदेशवासीलाई अनुरोध गरेका छन्।

