१२ भदौ, काठमाडौं । चीनको तिब्बततर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ।
चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।
प्रजिअ परियारका अनुसार ताल फुटेको जानकारी आएपछि नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन प्रशासनले सूचना प्रवाह गरिसकेको छ।
यसअघि चीनको जलस्रोत मन्त्रालयले उक्त क्षेत्रमा ठूलो जलाशययुक्त ताल बनेको र त्यसमा ठूलो मात्रामा पानी जम्मा भएको जनाएको थियो। तालबाट पानी बाहिरिन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले अवस्थाको निरन्तर निगरानी गरिरहेको थियो।
छोचेन खोला र पुरेपू त्साङ्पो नदी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले ताल फुटेपछि त्यसको प्रभाव नेपालतर्फ पनि पर्न सक्ने जोखिम रहेको छ।
यसैबीच, सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान आग्रह गरिएको छ। चीनतर्फ समेत उद्धार अभियानलाई जोखिमका कारण स्थगित गरिएको समाचारहरूमा उल्लेख छ।
रसुवा, नुवाकोट तथा भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।

