सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई भ्रमपूर्ण सूचना दिई निजी अस्पतालतर्फ पठाउने कार्यमा संलग्न १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की २७ वर्षीया रविना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान उपमहानगरपालिका–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का २९ वर्षीय सान्विन किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का १८ वर्षीय विनोद भट्टराई रहेका छन्।
यसअघि मंगलबार झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय प्रवीण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपक रामलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनीहरूलाई प्रतिष्ठानको इमर्जेन्सी, ओपीडी, विभिन्न वार्ड, रेडियोलोजी तथा प्रयोगशाला कक्षबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका प्रवीण पोखरेल र दीपक रामविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने बुधबार पक्राउ परेका अन्य १० जनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ।
प्रहरीले जनगुनासो र गोप्य सूचनाका आधारमा बिचौलियाविरुद्ध अभियान सञ्चालन गरेको जनाएको छ। अनुसन्धानका क्रममा पोखरेल र रामबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका भिजिटिङ कार्ड, बिरामीका प्रेस्क्रिप्सन तथा डिस्चार्ज कागजातका तस्वीर, बिरामीको व्यक्तिगत विवरण आदान–प्रदान गरिएका मोबाइल सन्देश तथा एम्बुलेन्स चालकहरूको सम्पर्क विवरणसमेत फेला परेको प्रहरीले जनाएको छ।
बीपी प्रतिष्ठानमा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट दैनिक चार हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन्। प्रहरीका अनुसार बिचौलियाहरूले अस्पतालको प्रवेशद्वारदेखि विभिन्न विभागसम्म पुगेर ‘यहाँ उपचार राम्रो हुँदैन’, ‘चिकित्सक र उपकरण राम्रो छैन’, ‘पालो आउन धेरै समय लाग्छ’ जस्ता भ्रम फैलाउँदै बिरामी र उनका आफन्तलाई विराटनगर, बिर्तामोडलगायतका निजी अस्पताल, नर्सिङ होम र डायग्नोस्टिक केन्द्रतर्फ पठाई कमिसन लिने गरेका थिए।
प्रहरीले पक्राउ परेकाहरू संगठित गिरोहकै रूपमा सक्रिय रहेको आशंका गर्दै अनुसन्धानलाई थप विस्तार गरेको छ। केही औषधि पसल, एम्बुलेन्स चालक तथा निजी अस्पतालका प्रतिनिधिसँग समेत उनीहरूको साँठगाँठ रहेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिष्ठान स्रोतका अनुसार इमर्जेन्सी, जनरल ओपीडी, इन्टर्नल मेडिसिन, मानसिक रोग, हाडजोर्नी, आँखा, चर्म, स्त्री तथा प्रसूति, बालरोग, श्वासप्रश्वास, कार्डियोलोजी, पेट तथा कलेजो, सर्जिकल, नाक–कान–घाँटी, फिजियोथेरापी, अङ्कोलोजी, न्युरोलगायत विभाग र रेडियोलोजीमा ५० जनाभन्दा बढी बिचौलिया लामो समयदेखि सक्रिय छन्।
प्रतिष्ठान स्रोतका अनुसार चिकित्सकले आवश्यक ठानेर मात्र रिफर गर्नुपर्ने बिरामीलाई बिचौलियाले बीचमै झुक्याएर अन्यत्र पठाउने गरेका छन्। सक्रिय बिचौलिया सञ्जाल नियन्त्रण गर्न सकिए प्रतिष्ठानको दैनिक आम्दानीमा तीन लाख रुपैयाँभन्दा बढी वृद्धि हुन सक्ने स्रोतको दाबी छ।

