काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कुख्यात जंगली हात्ती ‘ध्रुवे’मा स्याटेलाइट रेडियो कलर जडान गरेको छ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हालसम्म २५ जनाको ज्यान लिइसकेको ध्रुवेलाई डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी नियन्त्रणमा लिएपछि घाँटीमा रेडियो कलर जडान गरिएको हो। त्यसपछि हात्तीको दाह्रा काटेर पुनः जंगलमा छाडिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रेडियो कलर जडानसँगै अब जीपीएस ट्र्याकिङमार्फत हात्तीको गतिविधि र अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्न सकिनेछ। यसले हात्ती बस्ती नजिक पुगेमा समयमै सतर्कता अपनाउन र सम्भावित मानवीय क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रेडियो कलर जडान कार्य नेपाली सेनाको नयाँ गोरख गण, चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको संयुक्त टोलीले सम्पन्न गरेको हो।
गत असार २० गते भरतपुर–२३ मा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानीलाई तीव्र बनाएको थियो। प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन केही समय लागेको निकुञ्जले जनाएको छ।
निकुञ्जले स्थानीय बासिन्दालाई जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन, जारी सुरक्षा सूचनाको पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

