काठमाडौँ । स्वास्थ्य संस्था बाहेक अन्य निकायले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण हुन नसक्दा देशभर करिब दुई हजार एम्बुलेन्स सञ्चालनविहीन बनेका छन्। स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण प्रक्रिया अवरुद्ध भएको हो।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकका निकायले सञ्चालन गरेका करिब दुई हजार एम्बुलेन्स नवीकरण हुन सकेका छैनन्। यसबाहेक थप करिब एक हजार ५०० एम्बुलेन्स पनि सोही समस्याबाट प्रभावित रहेको उनले बताए।
देशभर करिब छ हजार एम्बुलेन्स सञ्चालनमा रहेको तथ्याङ्क रहेको छ। तीमध्ये स्वास्थ्य संस्था तथा सङ्घ–संस्थाले सञ्चालन गरेका एम्बुलेन्सको नवीकरण भए पनि गैरसरकारी संस्था र निजी क्षेत्रका एम्बुलेन्स भने कानुनी अवरोधका कारण सञ्चालन हुन सकेका छैनन्।
अध्यक्ष लामिछानेले स्वास्थ्य ऐन लागू भएदेखि नै त्यसमा संशोधन गर्न सरकारसँग निरन्तर पहल भइरहेको बताए। उनका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री डा. सुधा शर्मासमक्ष पनि समस्या राखिएको थियो भने नयाँ सरकार गठन भएसँगै स्वास्थ्य मन्त्रीलाई पुनः ध्यानाकर्षण गराउने तयारी भइरहेको छ।
उनले ऐन संशोधन नभए अझ धेरै एम्बुलेन्स थन्किने, चालकहरूको रोजगारी प्रभावित हुने र सर्वसाधारणले समयमै एम्बुलेन्स सेवा पाउन कठिन हुने चेतावनी दिए।
“एम्बुलेन्स सेवा मानवताको विषयसँग प्रत्यक्ष जोडिएको भएकाले नयाँ सरकारले यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ,” अध्यक्ष लामिछानेले भने।

