काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे कार्डमार्फत भुक्तानी प्राप्त गर्ने सेवा सुरु गरेको छ। बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप विस्तार र सुदृढ बनाउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै बैंकका ग्राहकले नेपालपे कार्डमार्फत सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
बैंकका अनुसार अब डिस्कभर नेटवर्कअन्तर्गतका रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि एनआईसी एसिया बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ। नेपालपे कार्ड नेशनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा आएको राष्ट्रिय कार्ड प्रणाली हो। यसलाई नेपालमा नेशनल पेमेन्ट स्विचमार्फत तथा अन्तर्राष्ट्रिय रूपमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिन्छ।
नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे कार्ड सञ्चालनमा आएपछि बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गरेका नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने व्यवस्था भएको छ। साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिनेछ।
बैंकले यस पहलले ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको नेशनल कार्ड प्रणालीको प्रवर्द्धन हुनुका साथै देशको डिजिटल भुक्तानी प्रणाली र डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।

