काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन्।
स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा लामिछाने नेतृत्वको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने तयारी भइरहेको छ।
भ्रमण टोलीको अन्तिम टुंगो लागिनसकेकाले प्रतिनिधिमण्डलमा रहने अन्य सदस्यहरूको नाम भने सार्वजनिक गरिएको छैन। भ्रमणको आवश्यक तयारी तथा समन्वयका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग संवाद भइरहेको स्रोतले जनाएको छ।
यसअघि लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा गएका थिए। चीन भ्रमणलाई रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध विस्तारको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

