काठमाडौँ — काठमाडौँ उपत्यकामा आज शुक्रबार पनि मौसम बदली रहने र मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार बिहान परेको वर्षा केही समयका लागि रोकिए पनि अपराह्न र रातिको समयमा फेरि वर्षा हुने सम्भावना रहेको छ।
उनका अनुसार बिहान बुढानिलकण्ठ क्षेत्रमा छिटपुट वर्षा भइरहेको थियो भने उपत्यकाका अन्य स्थानमा वर्षा रोकिएको अवस्था थियो। तर दिउँसो करिब २–३ बजेदेखि वर्षा सक्रिय हुने अनुमान गरिएको छ।
मौसमविद् महर्जनले आगामी दुई दिन वर्षाको सम्भावना अझ बढी रहेको बताउँदै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेकी छन्।

