काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुवै पार्टीबीच पर्सि (कात्तिक १७ गते) औपचारिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ।
कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे आयोजना हुने विशेष एकता सभामार्फत पार्टी एकताको घोषणा गरिने जनाइएको छ।
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर नेतृ उमा भुजेलको नेतृत्वमा छुट्टै राष्ट्रिय भेला आयोजना गरिएको थियो। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्र बनाउने उद्देश्यले दुई पार्टीबीच समायोजन हुन लागेको बताइएको छ।
यस एकतासँगै उमा भुजेल नेतृत्वको पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुनेछन्। यसले कम्युनिस्ट आन्दोलनलाई थप एकीकृत र संगठित बनाउने अपेक्षा गरिएको छ।

