काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरको द प्लाजा पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड–२०२६ घोषित भएकी हुन्। प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल तथा कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए।
मिस कोस्मो योलिंडा लिंडक्विस्टसहित विभिन्न क्षेत्रका व्यक्तित्व निर्णायक मण्डलमा सहभागी थिए। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो।
दीपमाला विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्। उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका समेत हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बन्न सफल दीपमाला नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुन्। उनले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधि पनि जितेकी थिइन्।
दीपमालाको परिवारको मिस नेपालसँग विशेष सम्बन्ध पनि रहेको छ। उनकी आमाले सन् १९९४ मा आयोजना भएको पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

