काठमाडौं ।
नेपाली चलचित्र ‘गौँथली’ निर्माण टिमले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क चलचित्र प्रदर्शन अभियान घोषणा गरेको छ।
अभियानअन्तर्गत आगामी भदौ १० गतेदेखि भदौ २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउनेछन्। निःशुल्क टिकट प्राप्त गर्न भने खल्ती एपमार्फत टिकट खरिद गर्नुपर्नेछ। टिकट खरिदपछि आवश्यक प्रक्रिया पूरा गरेमा खरिदमा खर्च भएको रकम सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमै फिर्ता गरिने निर्माण पक्षले जनाएको छ।
निर्देशक डा. कपिल रिजालका अनुसार रकम फिर्ताका लागि नागरिकताको प्रमाण र फोटो पेस गर्नुपर्नेछ। साथै, खल्तीमार्फत गरिएको टिकट खरिदको ट्रान्जेक्सन स्क्रिनसट तथा पृष्ठभूमिमा ‘गौँथली’को पोस्टर देखिने गरी खिचिएको फोटोसमेत उपलब्ध गराउनुपर्नेछ।
यस अभियानका लागि खल्तीमा प्रारम्भिक रूपमा एक लाख रुपैयाँ जम्मा गरिनेछ। उक्त रकम सकिएसम्म वा अभियानको अवधि समाप्त नभएसम्म, जुन पहिले हुन्छ, त्यहीअनुसार रकम फिर्ताको प्रक्रिया अघि बढाइनेछ।
अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै नेपाली चलचित्र इतिहासमा दोस्रो सर्वाधिक कमाउने चलचित्रको स्थान बनाएको निर्माण पक्षले जनाएको छ।
डा. कपिल रिजाल निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। शिक्षाको महत्व र श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई कथाको मुख्य आधार बनाइएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन्।

