घाइते पाइलट
आकाशको उचाइमा
नन्दलाल खरेल
मृत्युले ढोका ढकढक्याउँदा,
रगतले भिजेको शरीर बोकेर पनि
स्मित मच्छड डराएनन्।
चक्कुको चोट गहिरो थियो,
शरीर पीडाले छट्पटिएको थियो,
तर मनमा एउटै आवाज थियो—
“मभन्दा पहिले यात्रुहरू बच्नुपर्छ।”१।
केही सेकेन्डको त्यो क्षण,
सयौँ जीवनको प्रश्न बनेको थियो,
आँखाअघि मृत्यु नाचिरहेको थियो,
तर उनले साहसको ढोका खोले।
आफ्नै रगत बगिरहँदा पनि
ककपिटको ढोका खोल्ने हात,
आज केवल एउटा पाइलटको हात होइन,
१७४ जीवनको आशाको हात बनेको छ।२।
आकाशमा उडेको त्यो विमान
केवल फलामको पखेटा थिएन,
त्यसभित्र थिए—
कसैका सपना,
कसैका सन्तान,
कसैका बाबुआमा,
कसैको जीवनसाथी।३।
त्यसैले,
स्मित मच्छडको साहस
एउटा घटनामात्र होइन,
कर्तव्यप्रतिको अटल निष्ठाको कथा हो।
घाउ शरीरमा रहे,
तर विजय मानवताको भयो।
रगत उनको बग्यो,
तर जीवन १७४ जनाको बच्यो।४।
सलाम छ, क्याप्टेन स्मित मच्छड—
तपाईंले प्रमाणित गर्नुभयो,
साँचो वीरता
डर नलाग्नु होइन,
डर र पीडाबीच पनि
अरूको जीवन बचाउन अघि बढ्नु हो।५।

