काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। प्राकृतिक विपद्का कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सहयोग गरिएको बैंकले जनाएको हो।
बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी तथा उद्धार कार्यमा सरकारसँग ऐक्यबद्धता जनाएको छ। उद्धार, राहत र पुनःस्थापनाको मानवीय कार्यमा आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
बाढी तथा विपद्मा परी ज्यान गुमाएकाहरूप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै बेपत्ताहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

