काठमाडौं । कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्य न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार फैसला गर्दै अधिकारीलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन व्यवसायीसँग घुस लिएको आरोपमा अधिकारीसहितका प्रतिवादीविरुद्ध २०८२ जेठमा ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।
तीमध्ये विशेष अदालतले दुईवटा मुद्दामा पूर्ण रूपमा दोषी ठहर, दुईवटामा आंशिक रूपमा दोषी ठहर र दुईवटामा सफाइको फैसला गरेको छ।
अदालतले सोही मुद्दाका प्रतिवादीहरू सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमलाई भने सफाइ दिएको छ।
घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि अधिकारीमाथि अदालतले फैसला कार्यान्वयनका क्रममा तोकिने कानुनी सजाय र जरिवानाको प्रक्रिया अघि बढ्नेछ।

