काठमाण्डौ, १० असोज २०८२
माछापुच्छ्रे बैंक लिमिटेडको २७औँ वार्षिक साधारण सभा शुक्रबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही वर्षको खुद नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
बैंकले वितरण गर्न लागेको ८ प्रतिशत लाभांशमध्ये ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर रहनेछ। नगद लाभांश दशैँअघि नै सम्बन्धित शेयरधनीको खातामा पठाइने बैंकले जनाएको छ। बोनस शेयर वितरणपछि बैंकको कुल चुक्ता पूँजी १२ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो।
बैंक चालु आर्थिक वर्षमै साधारण सभा सम्पन्न गरी लाभांश वितरण गर्ने पहिलो बैंक बनेको छ। पोखरामा सम्पन्न सभामा संस्थापक तथा साधारण शेयरधनीहरुको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ।