काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदमा थापाको मात्र उम्मेदवारी कायम भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। लामो समयदेखि कांग्रेसको नेतृत्वमा पुस्तान्तरण र संगठनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बहस चलिरहेका बेला थापा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
नवनिर्वाचित सभापति थापाले पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीमा लामो समय योगदान गरेका तर यसपटक महाधिवेशनमा सहभागी हुन नसकेका नेताहरूलाई समेत कांग्रेसको एकता र सुदृढीकरणका लागि मूलधारमा फर्किन आग्रह गरेका छन्।
थापाले कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा, पुराना पुस्ताको अनुभव र सबै तहका नेता–कार्यकर्ताको सहभागिताबाट अघि बढाउने बताउँदै आएका छन्।
उनको निर्विरोध निर्वाचनसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ राजनीतिक अध्याय सुरु भएको कांग्रेसका नेता तथा कार्यकर्ताहरूले बताएका छन्। महाधिवेशनबाट अब अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
गगन थापा यसअघि कांग्रेसका महामन्त्रीसमेत भइसकेका छन्। विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा आएका थापा कांग्रेसभित्र प्रभावशाली युवा नेताका रूपमा स्थापित छन्।

