काठमाडौँ, कात्तिक ३० ।
मुलुकको पहिलो औपचारिक बैंकिङ संस्था नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा चार अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल निक्षेप सङ्कलन चार खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी दुई खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोषमा करिब २५ अर्ब रुपैयाँ र कुल नेटवर्थ करिब ४२ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयका अनुसार बैंकले आधुनिक डिजिटल बैंकिङ सेवा विस्तार गर्दै प्रतिस्पर्धी बैंकका रूपमा आफूलाई स्थापित गरिरहेको छ। नवीनतम प्रविधिको उपयोग र नियामकीय मापदण्डको पालना गर्दै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
स्थापनाकालमा आठ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी र १२ जना कर्मचारीबाट सुरु भएको नेपाल बैंकमा अहिले करिब तीन हजार छ सय कर्मचारी कार्यरत छन्।
बैंकले सरकारी सुरक्षणपत्रलगायत विभिन्न क्षेत्रमा करिब एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ। नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार बैंकको जोखिम भारित पुँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत रहेको छ।
नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अगाडि नै स्थापना भएको मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाउँदै छ। परम्परागत साहु–महाजन प्रणालीको विकल्पका रूपमा औपचारिक निक्षेप सङ्कलन र कर्जा प्रवाहको सुरुवात गरेको यस बैंकले नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

