काठमाडौं । भाषावैज्ञानिक, समालोचक तथा सशक्त निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेललाई २०८२ सालको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ ।
साहित्य सन्ध्याको शुक्रबार साँझ बसेको कार्यसमिति बैठकले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका पोखरेललाई ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
भाषाविज्ञान, वस्तुपरक समालोचना र निबन्ध लेखनका क्षेत्रमा पुर्याएको अतुलनीय योगदान तथा नेपाली भाषाको अनुसन्धान र विकासमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको साहित्य सन्ध्याले जनाएको छ ।
सन् १९४८ सेप्टेम्बर २४ मा सुनसरीको धरानस्थित विजयपुरमा गङ्गाधर पोखरेल र कृष्णादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मिएका प्रा.डा. पोखरेल नेपाली भाषाका अनुसन्धानकर्ता तथा विशेषज्ञका रूपमा स्थापित छन् । भाषाविज्ञानसँगै उनी प्रखर समालोचक र सशक्त निबन्धकारका रूपमा समेत परिचित छन् ।
पोखरेलले भारतको डेकन कलेज युनिभर्सिटी, महाराष्ट्रबाट ‘नेपाली साउन्ड सिस्टमको प्रयोगात्मक विश्लेषण’ विषयमा स्नातकोत्तर गरेका छन् । जापानको कोबे युनिभर्सिटीबाट नेपाली तथा जापानी वाक्यव्याकरणको तुलनात्मक अध्ययन गर्नुका साथै नेपाली र जापानी कोटिकारको अवधारणासम्बन्धी अनुसन्धानसमेत गरेका छन् । उनले चीनको बेइजिङस्थित चाइना इन्टरनेसनल तथा भारतको मैसुरस्थित सेन्ट्रल इन्स्टिच्युट अफ इन्डियन ल्याङ्ग्वेजेजमा नेपाली भाषा विशेषज्ञका रूपमा समेत काम गरेका छन् ।
नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, जापानी, प्राकृत, पाली, चिनियाँ, कुसुन्डा, मराठी र सिंहालीलगायत भाषाका ज्ञाता पोखरेलले नेपालका ४० भन्दा बढी भाषाको स्थलगत अनुसन्धान गरेका छन् । झापाको लाफाती तथा खोटाङका किराती भाषालगायत विभिन्न भाषाको अध्ययन गरेका उनले अलिखित अवस्थामा रहेका नेपालका ६९ भाषाको लेख्य रूप निर्माणमा समेत योगदान पुर्याएका छन् ।
नेपाली भाषाको द्विरुक्ति प्रक्रिया, नेपाली भाषिकाको निर्धारण, नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण, नेपाली र मैथिली पदसङ्गतिको तुलनात्मक अध्ययन, नेपालका भाषामा आत्मनेपद र परस्मैपदको व्यतिरेक, नेपाली शब्दको आवृत्ति गणना, ‘गोरखा भाषा व्याकरण चन्द्रिका’को भाषावैज्ञानिक अध्ययन तथा नेपाली भाषाका पारिभाषिक शब्दावलीलगायत विषयमा उनका अनुसन्धान प्रकाशित छन् ।
पोखरेलले विद्यालयदेखि विश्वविद्यालय तहसम्म तथा चीनको बेइजिङ विश्वविद्यालयमा समेत नेपाली भाषा र साहित्यको अध्यापन गरेका छन् । भाषाविज्ञान, निबन्ध तथा समालोचनाका दर्जनौँ कृति प्रकाशित गरेका उनले ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को पहिलो ठेलीलगायत विभिन्न महत्वपूर्ण कृतिको सम्पादनसमेत गरेका छन् । उनले दर्जनभन्दा बढी विद्यावारिधि अनुसन्धानको निर्देशन गरेका छन् ।
पूर्वीय दर्शन र व्याकरणका गहन अध्येता तथा वस्तुपरक समालोचना सिद्धान्तका विद्वान् पोखरेल नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भाषाविज्ञानका स्थापित अध्येताका रूपमा परिचित छन् । नेपाल सरकारको भाषा आयोगका विशिष्ट सल्लाहकारसमेत रहेका उनले नेपाली भाषा र भाषाविज्ञानको क्षेत्रमा पुर्याएको योगदानले अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार गङ्गाप्रसाद उप्रेतीद्वारा स्थापित ५० हजार रुपैयाँ राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ पोखरेललाई असोज २४ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले बताए ।

