बुटवल, चैत २४ — निक्षेप तथा कर्जा सुरक्षा कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड होटलमा “कर्जा सुरक्षा सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयर अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।
एकदिने कार्यशालामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, इन्फिनिटी लघुवित्त, ग्रामीण लघुवित्त, जनउत्थान लघुवित्त, स्वाभिमान लघुवित्त, समता लघुवित्त, उन्नति सहकार्य लघुवित्त, स्वरोजगार लघुवित्त, सूर्योदय लघुवित्त, मेरो माइक्रोफाइनान्स, शिवश्री नेपाल लघुवित्त लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल, कर्जा विभागका प्रमुख प्रबन्धक विकास आचार्य तथा सूचना प्रविधि विभाग प्रमुख अधिकृत राजु केसी लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।
गोष्ठीको सञ्चालन कोषको शाखा कार्यालय बुटवलका प्रमुख वसन्त केसीले गरेका थिए भने स्वागत मन्तव्य नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले व्यक्त गरेकी थिइन्। कार्यक्रममा कोषले सञ्चालन गर्दै आएको तथा भावी कर्जा सुरक्षा कार्यक्रमबारे जानकारी दिइएको थियो। साथै नयाँ सञ्चालनमा ल्याइएको कर्जा सुरक्षणसँग सम्बन्धित सफ्टवेयरबारे पनि जानकारी गराइएको थियो।
सहभागी संस्थाका प्रतिनिधिहरूले आफ्ना जिज्ञासा राखेका थिए भने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले त्यसको जवाफ दिँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
कोषले आफ्नो वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर छलफल र संवाद गर्दै बजारको सुरक्षण आवश्यकतालाई मध्यनजर गरी यस्ता कार्यक्रमहरू सबै प्रदेश समेट्ने गरी सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ।

