काठमाडौं । केन्द्रीय कार्य संयोजन समितिको आज सम्पन्न बैठकमा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, भविष्यको दिशा र नेतृत्व संरचनासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल भएको छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उक्त बैठकको अध्यक्षता कमिटीका संयोजक प्रचण्डले गरेका थिए भने सञ्चालन सह–संयोजक माधवकुमार नेपालले गरेका थिए।
बैठकमा कम्युनिस्ट पार्टी निर्माणको आधार सम्बन्धी मूल प्रश्न उठाउँदै मार्क्सवादी दर्शन, सिद्धान्त र विचार नै प्रमुख आधार हो वा पुस्तागत नेतृत्व भन्ने विषयमा गम्भीर बहस गरिएको थियो। साथै, युवा पुस्ताको सक्रिय सहभागिता बिना क्रान्ति वा आमूल परिवर्तन सम्भव छ वा छैन भन्ने विषयमा पनि सहभागी नेताहरूबीच मत आदानप्रदान भएको थियो।
त्यसैगरी, विगतमा विभाजित भएका कम्युनिस्ट शक्तिहरूबीच पुनः एकता, ध्रुवीकरण तथा पुनर्गठनको सम्भावना अझै बाँकी छ कि समाप्त भइसकेको हो भन्ने विषयमा पनि बैठकमा गहिरो छलफल भएको जनाइएको छ।
बैठकमा कम्युनिस्ट पार्टीको नेतृत्व प्राप्ति प्रक्रियाबारे समेत प्रश्न उठाइएको थियो। नेतृत्व कसैले मागेर, दिएर वा खोसेर हुने विषय नभई कार्यदक्षता, विचारधारा र संगठनात्मक योगदानका आधारमा स्थापित हुनुपर्ने धारणा व्यक्त गरिएको सहभागी स्रोतले जनाएको छ।
बैठकले समसामयिक राजनीतिक परिस्थिति, जिम्मेवारी र दायित्वलाई आत्मसात गर्दै आगामी रणनीति तय गर्न थप छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।
मिति २०८२ चैत २६ गते सम्पन्न उक्त बैठकलाई कम्युनिस्ट आन्दोलनको पुनर्संरचना र भविष्यको मार्गचित्र तय गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

