काठमाडौँ । इरान–अमेरिकाबीच अस्थायी युद्धविराम र पेट्रोलियम पदार्थमा सरकारले लगाउने करमा ५० प्रतिशत कटौती भएपछि मूल्य घट्ने अपेक्षा गरेका उपभोक्तालाई निराश बनाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थसहित खाना पकाउने ग्यासको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ।
निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। अन्तरराष्ट्रिय बजारमा मूल्यमा भइरहेको उतारचढावलाई आधार बनाउँदै निगमले यस्तो निर्णय गरेको जनाएको छ।
नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
संशोधित मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल २०७ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०१० रुपैयाँ पुगेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा नघटेको दाबी गर्दै मूल्य वृद्धि गर्नुपरेको जनाएको छ। निगमका अनुसार पछिल्लो समायोजनपछि पनि उसलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ।
आयल नियमद्वारा जारी प्रेस विज्ञप्ति

