काठमाडौं कात्तिक ३० गते।
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सोमबार बिहान विधिपूर्वक सम्पन्न भएको छ।
गत शनिबारदेखि निराहार व्रत सुरु गरेका व्रतालुले आज कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चारदिने छठ पर्व सम्पन्न गरेका हुन्। महोत्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा सूर्योदयसँगै व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका छठघाटमा पुगेर सूर्यदेवको पूजा–आराधना गरेका थिए।
यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिएको थियो। मिथिला क्षेत्रमा साँझको उक्त विधिलाई ‘सझियाघाट’ वा ‘सझुका अरख’ भन्ने गरिन्छ भने बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको सुरुवात व्रतालुले चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो भोजन गरेर व्रत सङ्कल्प गर्ने ‘नहाय–खाय’ विधिबाट गरेका थिए। पञ्चमीका दिन राति एक छाक अलिनो भोजन गरी ‘खरना’ विधि सम्पन्न गरेका व्रतालुले त्यसपछि निराहार व्रत बसेर सूर्यको उपासना गरेका थिए।
पर्व सम्पन्न भएपछि व्रतालुहरू छठघाटबाट घर फर्किएका छन्। घर पुगेपछि दीनदुःखी तथा आशामुखीहरूलाई अन्न, वस्त्रलगायतका सामग्री दान गर्ने र प्रसाद ग्रहण गर्ने परम्परा छ।
छठ पर्वमा ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटाका भाँडामा जमाइएको दहीलगायतका परिकार सूर्यदेवलाई अर्पण गरिन्छ। पूजा सम्पन्न भएपछि ती सामग्री प्रसादका रूपमा परिवार, आफन्त र छरछिमेकमा बाँडेर खाने तथा खुवाउने परम्परा रहेको छ।

