काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हटाउन उद्योगीहरू सक्रिय भएका छन्।
नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगमा ग्यास ‘बोटलिङ’ गरी भरिएका सिलिण्डर उपत्यकामा ल्याउन अनुमति दिएपछि उद्योगीहरूले सोहीअनुसार आपूर्ति व्यवस्थापन अघि बढाएका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी सिलिण्डर ढुवानीलाई सहज बनाउने पहल गरिरहेका छन्।
सङ्घका पूर्वअध्यक्ष भण्डारीका अनुसार उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा खाली सिलिण्डरको संख्या कम रहेकाले उपत्यकामा खाली भएका सिलिण्डर ट्रकमार्फत सम्बन्धित उद्योगसम्म पुर्याएर पुनः ग्यास भरेर उपत्यकामा ल्याउनुपर्ने अवस्था छ।
नेपाल ग्यासका सञ्चालकसमेत रहेका भण्डारीका अनुसार अहिले चितवनस्थित नेपाल ग्यास गण्डकीमा सिलिण्डर ‘बोटलिङ’ गर्ने काम भइरहेको छ। तर, खाली सिलिण्डरको अभावका कारण मागअनुसार ग्यास भर्न समस्या भइरहेको उनले बताए।
नेपाल ग्यासले सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ११ हजार सिलिण्डर बिक्री गर्दै आएको छ। आगामी केही दिनभित्र दैनिक ८ देखि १० हजार सिलिण्डर काठमाडौं ल्याउने गरी तयारी भइरहेको भण्डारीले जानकारी दिए।
सङ्घका सदस्य विमल कालाखेतीका अनुसार अन्य ग्यास उद्योगहरूले पनि उपत्यकाबाट खाली सिलिण्डर ट्रकमा बाहिर पठाएर सम्बन्धित उद्योगमा ‘बोटलिङ’ गरी पुनः उपत्यकामा ल्याउन थालेका छन्।
तर, रातिको समयमा कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक हुने भएकाले खाली सिलिण्डर बोकेका ट्रक उपत्यकाबाहिरका उद्योगसम्म पुग्न ढिलाइ भइरहेको उद्योगीहरूले बताएका छन्।
सडक अवरोधका कारण उत्पन्न ग्यास अभावलाई वैकल्पिक मार्ग र उपत्यकाबाहिरको बोटलिङ प्रक्रियामार्फत क्रमशः सहज बनाउने प्रयास भइरहेको उद्योगीहरूको भनाइ छ।

