काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सञ्चालनमा ल्याएको माई–आस्बा सुविधाले आईपीओ आवेदन प्रक्रियालाई थप सहज र झन्झटरहित बनाएको छ। मोबाइल बैंकिङ एपमार्फत सिधै आईपीओ भर्न मिल्ने यो फिचर बैंकले गत वर्षदेखि सुरु गरेको हो।
बैंककी डिम्याट/आस्बा प्रमुख रोजिना तिवारीका अनुसार यो सेवाले मेरो सेयरको आइडी/पासवर्ड तथा सीआरएन नम्बर सम्झिरहनुपर्ने झन्झट हटाएको छ। “ग्राहकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छौँ, आईपीओ भर्नेदेखि नतिजा हेर्नेसम्म सबै प्रक्रिया मोबाइलबाटै हुने भएकाले सेवा लोकप्रिय बन्दै गएको छ,” उनले भनिन्।
उनका अनुसार यो सुविधा ल्याउने पहिलो बैंकसमेत सिटिजन्स बैंक नै हो।
आईपीओ आवेदनका क्रममा ग्राहकबाट हुने सामान्य त्रुटिहरू—जस्तै १० कित्ता भर्न खोज्दा १०० कित्ता हाल्ने, सीआरएन नम्बर गलत राख्ने वा एउटाको सट्टा अर्को कम्पनीको आईपीओ रोज्ने जस्ता गल्तिका कारण आवेदन रद्द हुने समस्या पनि यो सेवाले कम भएको छ।
माई–आस्बा मार्फत आवेदन गर्दा प्रक्रिया पुगे/नपुगेको जानकारी तुरुन्तै देखिने भएकाले आवेदन अस्वीकृत हुने जोखिम घटेको तिवारीले बताइन्।
यसमा जोडिन ग्राहकले मोबाइल बैंकिङ एप खोलेर माई–आस्बा विकल्पमा क्लिक गरी डिम्याट नम्बर प्रविष्ट गर्नुपर्छ। त्यसपछि प्रणालीले स्वतः सीआरएन नम्बरसमेत लिंक गरिदिन्छ। एकपटक सेटअप भएपछि अर्को पटक सिधै आईपीओ आवेदन गर्न सकिन्छ।
बैंकका अनुसार सीआरएन नम्बर लिन शाखा धाउनुपर्ने बाध्यता पनि हटाइएको छ र घरबाटै यो सेवा लिन सकिन्छ।
ग्राहक सुविधा विस्तार गर्ने क्रममा बैंकले अनलाइनमार्फत नै डिम्याट खाता खोल्ने सेवाबारे समेत अध्ययन गरिरहेको जनाएको छ।

