भद्रपुर (झापा) । मेची रंगशालामा जारी प्रथम ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप अन्तर्गत बिहिबारको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
एपिएफले सङ्कटा क्लबलाई सडन डेथसम्म पुगेको प्रतिस्पर्धामा पराजित गरेको हो। निर्धारित ९० मिनेटमा दुवै टोली गोलविहीन बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि ३–३ को बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो।
निर्णायक सडन डेथमा सङ्कटाकी प्रतिक्षा राईको प्रहार बाहिरिएपछि एपिएफले जित आफ्नो पक्षमा पार्न सफल भयो। एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गर्दै टोलीलाई जित दिलाए। सङ्कटाका तर्फबाट सुशीला चौधरी र झुमा विश्वकर्माले गोल गरेकी थिइन्।
यसअघि टाइब्रेकरमा एपिएफकी गीता राना, अनिता बस्नेत र रश्मीकुमारी घिसिङ सफल भइन्। यता सङ्कटाका यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुशीया लीला जोसेले गोल गरे पनि अन्य प्रयास असफल हुँदा टोली पराजित हुन पुग्यो।
उत्कृष्ट प्रदर्शनका लागि एपिएफकी गीता राना ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन्।
अब सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, शुक्रबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा उत्कृष्ट विधागत खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

